सुदूरपश्चिम प्रदेशका मूख्यमन्त्री त्रिलोचन भट्टको गृहजिल्ला डोटीका २९ वटा सरकारी कार्यालयहरु निमित्त वा तोकिएको भन्दा तल्लो तहका कार्यालय प्रमूखका भरमा सञ्चालन भईरहेका छन् ।
संघीय सरकार मातहत, प्रदेश सरकार मातहत एवं स्थानीय तहका र सँस्थानको रुपमा रहेका गरी २९ वटा कार्यालयहरु निमित्तका भरमा सञ्चालन भईरहेका हुन् ।
जिल्ला प्रशासन कार्यालय डोटीले दिएको जानकारी अनुसार संघीय सरकार मातहत डोटीमा रहेका २७ वटा कार्यालयहरु मध्ये ११ वटा कार्यालयहरु निमित्तको भरमा चलिरहेका छन् ।
त्यस्तै प्रदेश सरकार मातहत रहेका २२ वटा कार्यालयमध्ये ९ वटा कार्यालयहरु निमित्तको भरमा चलेका छन् भने जिल्लाका ९ वटाका स्थानीय तहमध्ये ७ वटा स्थानीय तह निमित्तको भरमा सञ्चालन भईरहेका छन् । त्यस्तै जिल्ला समन्वय समिति र ग्रामीण विकास प्रशिक्षण केन्द्र पुन्ना पनि लामो समयदेखि निमित्तको भरमा रहेको छ ।
संघीय सरकार मातहतका निमित्त वा तोकिएको भन्दा तल्लो तहका कार्यालय प्रमूखको भरमा चलिरहेका कार्यालयहरुमा जिल्ला प्रशासन कार्यालय, जिल्ला निर्वाचन कार्यालय, हुलाक निर्देशनालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, नापी कार्यालय, लोक सेवा आयोगको कार्यालय, गुणस्तर तथा नापतौल कार्यायल, शिक्षा विकास तथा समन्वय इकाइ, शहरी विकास तथा भवन निर्माण संघीय इकाइ कार्यालय, रेडियो नेपाल प्रदेश प्रसारण केन्द्र र बाल सुधार गृह रहेका छन् ।
त्यस्तै प्रदेश सरकार मातहत रहेका निमित्त वा तोकिएको भन्दा तल्लो तहका कार्यालय प्रमूखको भरमा चलिरहेका कार्यालयहरुमा सुदूरपश्चिम क्षेत्रीय प्रहरी अस्पताल, कृषि विकास निर्देशनालय, पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय, शिक्षा विकास निर्देशनालय, घरेलु तथा साना उद्योग विकास समितिको कार्यालय, जिल्ला अस्पताल, भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, यातायात व्यवस्था सेवा कार्यालय र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रहेका छन् ।
त्यस्तै जिल्लाका ९ वटा स्थानीय तहमध्ये दिपायल सिलगढी नगरपालिका, शिखर नगरपालिका, बोगटान फुड्सिल गाउँपालिका, जोरायल गाउँपालिका, पूर्वीचौकी गाउँपालिका र सायल गाउँपालिका निमित्तको भरमा छन् । त्यस्तै बडिकेदार गाउँपालिकामा प्रमूख प्रशासकीय अधिकृतको भर्खरै सरुवा भएकाले यो समाचार तयार पार्दा निमित्तको भरमा चलिरहेको छ । आदर्श गाउँपालिका र के।आईं।सिंह गाउँपालिकामा भने दरबन्दी अनुसारकै प्रमूख प्रशासकीय अधिकृत रहेका छन् ।
कर्मचारी प्रशासनको प्रमूख निकाय जिल्ला प्रशासन कार्यालयमा प्रथम श्रेणीको प्रमूख जिल्ला अधिकारीको दरबन्दी भए पनि लामो समयदेखि द्वितिय श्रेणीका प्रजिअले धान्दै आएका छन् । अहिले पनि सहायक प्रमूख जिल्ला अधिकारीले नै प्रमूख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेका छन् ।
मुलूक संघीय संरचनामा जाँदा संघीय सरकारकै कर्मचारीबाट सबै तहमा कर्मचारी खटनपटन गर्नुपरेकाले तोकेको संख्यामा कर्मचारी अपुग भएको डोटीका प्रमूख जिल्ला अधिकारी टेक नारायण पौडेलले बताए ।
हरेक कार्यालयमा कस्तो जनशक्ति आवश्यक छ भन्ने आधारमा दरबन्दी तोकिने र तोकिएको पदपुर्ती नहुँदा कार्यसम्पादनमा समस्या हुने गरेको उनले बताए । सम्बन्धीत कार्यालयका तालुक विभाग, मन्त्रालय वा उपल्ला निकायले तत्तत् मातहतका कार्यालयहरुमा दरबन्दी अनुसार पदपुर्ती गर्नुपर्ने प्रजिअ पौडेलले बताए ।
कर्मचारी अभावको समस्या कसरी समाधान गर्न सकिन्छ त रु भन्ने विषयमा सुदूरपश्चिम प्रदेशका मूख्यमन्त्री त्रिलोचन भट्टसँग सोध्न खोज्दा आफु व्यस्त रहेको बताएपछि जवाफ लिन सकिएन ।
मूख्यमन्त्रीका प्रमूख स्वकिय सचिव शिव सिं ओलीले निमित्त कर्मचारीका भरमा कार्यालय चलाउनुपर्ने बाध्यता डोटीमा मात्रै नभएर प्रदेशका सबै जिल्लाहरुमा समस्या रहेको बताए ।
डोटी जिल्लाबाट प्रतिनिधी सभा, प्रदेश सभा र स्थानीय तहमा समेत सत्तारुढ दल नेकपाकै प्रतिनिधित्व भएको अवस्थामा पनि जिल्लाभित्रका सरकारी कार्यालय निमित्तका भरमा चल्नुपर्दा अन्य बेलामा पदपूर्ती हुने सम्भावना पनि देखिंदैन । ई-सुदुर खवर