मासु पकाउने आ(आफ्नै तरिका हुनसक्छ तैपनि मासुमा कम तेल, मसला हालेर पकाउनुपर्छ । मासु खाँदा सकभर रातो मासु (खसी, राँगा, बँदेल आदि) र भित्री मासु खानुहुँदैन ।
खाए पनि कम मात्रामा खानुपर्छ । सेतो मासु (कुखुराको मासु र माछा) स्वास्थ्यका दृष्टिले अनुकूल मानिन्छ । रातो मासुमा हुने चिल्लो पदार्थमा स्याच्युरेटेड फ्याट हुन्छ जुन शरीरका लागि फाइदाजनक मानिँदैन ।
कुनै दीर्घकालीन रोग भएका बिरामीहरू जस्तै मधुमेह, उच्च रक्तचाप, मिर्गौला, कलेजोका रोगी, युरिक एसिड तथा रगतमा कोलेस्ट्रोल, टाइग्लिसिराइड आदि चिल्लो पदार्थ बढी छ भने पनि रातो मासु तथा भित्री मासु खानुहुँदैन ।
मासु पकाउँदा सकभर चिल्लो कम हुने गरी पकाउने अथवा मासुलाई सुख्खा तरिकाले पकाउँदा त्यसमा भएको चिल्लो पदार्थ पनि जान्छ । सुख्खा तरिकाले पकाउने भन्नाले ओभन छ भने ओभनमा रोस्ट गरेर पकाउने अथवा साधारण किसिमको कराहीमा मासुलाई थोरै मसलामा मोलेर मन्द आँचमा राखेर पकाउनु हो । यसरी मासु पकाउँदा त्यसमा भएको चिल्लो पदार्थ पनि कराहीमा निस्कन्छ । केहीबेर तातोपानीमा डुबाएर पकाउँदा पनि मासुको चिल्लो केही हदसम्म कम हुन्छ ।
पहिले-पहिले बिहान सबेरै उठी हिँडेर मन्दिर जाने चलन थियो तर हिजोआज मन्दिर जाँदा पनि गाडी वा मोटरसाइकल चढिन्छ । जसले गर्दा शारीरिक क्रियाकलापको कमी भएर मासु राम्रोसँग पच्न सक्दैन । त्यसमाथि मासु खाएर शरीरभित्र पुगेपछि पचाउने तथा सोस्नेजस्ता काम गर्न लगभग ८ देखि ९ घन्टा लाग्छ । त्यसकारण मासु खाएपछि अनिवार्य रूपमा शारीरिक व्यायाम गर्नुका साथै प्रशस्त पानी पिउनुपर्छ ।
आजकाल मासुको खपत धेरै हुन्छ । मासु बेच्नेहरूले पशुपक्षीको स्वास्थ्यको हेरविचार राम्रोसँग गरेका हुँदैनन् । रोगी पशुपक्षीको मासु खाँदा समस्या देखिन सक्छ भने काँचो माछा(मासु कहिल्यै खानुहुँदैन । मासु १ सय डिग्रीभन्दा माथिको तापक्रममा पकाउनुपर्छ । मासु संचय गर्दा पाकेको मासुलाई फ्रिजमा राख्नुभन्दा पनि काँचो मासुलाई डिपफ्रिजमा राख्नु बेस हुन्छ । मासु पकाउँदा पनि एकैपटक धेरै दिनलाई पुग्ने गरी पकाउनु हुँदैन ।
१/२ दिनका लागि मात्र मासु पकाएर राख्ने अनि चाहिने जति निकालेर बाँकी मासुलाई चिसो भएपछि बिर्को बन्द गरेर फ्रिजमा राख्नुपर्छ अनि पछि जति चाहिन्छ त्यति मात्रामा निकालेर तताएर खानुपर्छ । मासुलाई तताउने वा चिस्याउने काम गर्दा स्वाद बिग्रनुका साथै त्यसमा कीटाणु पनि बढ्दै जान्छन् ।
मासु धेरै खाँदा मानिसमा कब्जियतको समस्या देखिन्छ । त्यसैले खानामा मासुसँगै हरियो सागपात, तरकारी तथा मौसमअनुसारका फलफूल खोस्टे दाल, नफलेको चामलको भात आदि समावेश गर्नुपर्छ ।
मासुका विभिन्न परिकार मध्य चिकेन टिक्का स्वादिष्ट परिकार हो । यसलाई तयार गर्ने विधि यस्तो छ :
सामग्री : २ सय ५० ग्राम हड्डी नभएको कुखुराको मासु (चौकोर काटेको), एक कप हरियो धनियाँ, एक मुठी पुदिना, चारवटा लसुनका पोटी, तीन ठूलो चम्चा ताजा क्रिम, एक ठूलो चम्चा मैदा, दुई ठूलो चम्चा तेल,नून स्वादअनुसार ।
विधि : धनियाँ, पुदिना, लसुन र नुन मिसाएर पेस्ट बनाउने, यो मिश्रणलाई कुखुराको मासुमा मोलेर एक घन्टा मेरिनेट गर्ने । क्रिम, मैदा र एक ठूलो चम्चा तेल मिसाएर मेरिनेट गरिएको मासुमा लगाउने र झीरमा उनेर तेल दल्दै कोइलाको रापमा सेक्ने । यसलाई तात्तातै सर्व गर्नुपर्छ ।