जिना स्टेवार्ट अस्ट्रेलियाकी मोडल तथा व्यवसायी हुन्। चार सन्तानकी आमा ४९ वर्षीया उनी एक नातिनीकी हजुरआमा पनि हुन्। उनलाई संसारकै आकर्षक हजुरआमा (हटेस्ट ग्य्रान्डमा) भनिन्छ। उनी चाँडै नै विश्वप्रसिद्ध म्यागजिन ‘प्लेब्वाई’को आवरण पृष्ठमा देखिने भएकी छिन्।
इन्स्टाग्राम, ट्वीटरजस्ता सामाजिक सञ्जालमा उनका कामोत्तेजक तस्बिर र भिडियो भाइरल हुने गरेका छन्। हजुरआमाको परम्परागत छविमा कतै पनि मेल नखाने संसारकै कामुक हजुरआमाको संज्ञा दिइएकी जिना गोल्ड कोस्टमा बस्छिन्। उनले हालसालै डढेलोपीडित आफ्नो देशका वन्यजन्तुको संरक्षणका लागि २ लाख ५० हजार डलरभन्दा बढी रकम जुटाउन मद्दत गरेकी थिइन्।
सामाजिक सञ्जालमा उनलाई हजारौँले पछ्याउँछन्। हजुरआमा जिनाका असंख्य अर्धनग्न र नग्न तस्बिर इन्स्टाग्रामलगायत साइटमा व्यापक भएका छन्। संसारकै कामुक हजुरआमा बन्नु आफ्नो सपना कहिल्यै नभएको उनी बताउँछिन्। ‘मलाई संसारकै ‘हट’ हजुरआमाको लेबलप्रति कुनै मोह छैन,’ उनी भन्छिन्, ‘यो मेरो सपना पनि थिएन। तर, मलाई हजुरआमा भनेको साह्रै मन पर्छ। हजुरआमा सम्बोधन स्वस्थ र सुखी सन्तान हुर्काएबापत पुरस्कार हो। म आफूलाई ग्ल्यामरस महिला होइन, अनौठो रूपरंग भएकी महिला भन्न चाहन्छु।’
आफू अहिले प्रेम सम्बन्धमा नभएको तर प्रेमीको खोजीमा रहेको हजुरआमा जिना बताउँछिन्। उनीसँग सम्बन्ध गाँस्न चाहनेका लागि उनी केही सुझाव पनि दिन्छिन्। ‘मलाई ठट्टा गर्न सिपालु मान्छे मन पर्छ,’ उनी भन्छिन्, ‘अझ अमेरिकी लवजमा बोल्ने मान्छेलाई म साह्रै मन पराउँछु।’
इन्स्टाग्राममा उनले पोस्ट गरेको एउटा तस्बिरले हंगामा मच्चाएको थियो। कपालले स्तन छोपेको सर्वांग नग्न उनको तस्बिरलाई पछि इन्स्टाग्रामले नियम उल्लंघन भएको भन्दै हटाएको थियो। यस कदमको उनले कडा विरोध गरेकी थिइन्। त्यसपछि इन्स्टाग्रामले त्यो तस्बिर पुनः राखेको थियो।