सुर्खेत : ट्रिपरले हानेर एक युवाको मृत्यु भएपछि अशान्त बनेको सुर्खेत आज तेस्रो दिन पनि अशान्त नै देखिएको छ भने प्रदर्शन चर्किएको छ ।
मृतकका आफन्तले आज पनि बिहानैदेखि वीरेन्द्रनगर बजारमा प्रदर्शन गरिरहेको र बजार आंशिक रुपमा बन्द भएको छ । प्रदर्शनका कारण लामो दुरीको सवारी आवागमन पनि प्रभावित भएको छ ।
बिहानै वीरेन्द्रचोकमा प्रहरीले प्रदर्शनकारीलाई नियन्त्रणमा लिन बल प्रयोग गरेको थियो । हुलहुज्जतमा उत्रिएको भन्दै प्रहरीले ८ जनालाई पक्राउ गरेको छ । प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीका अनुसार बुधबार साँझ नै मृतकका आफन्तसँग सहमति भए पनि एक्कासी अर्को समूह चक्काजाममा उत्रिएपछि समस्या उत्पन्न भएको हो ।

ट्रिपर धनी हरि बिसीविरुद्ध मुद्दा दायर गर्ने, प्रदर्शनमा घाइते भएकाहरुको उपचार गर्ने र कानुनी रुपमा मृतकका परिवारलाई राहत दिने सहमति भइसकेको प्रजिअ अधिकारीले जानकारी दिए ।
तर सहमति भइसकेपछि अर्को समूहले उक्त सहमति नमान्ने भन्दै समस्या बल्झाएको उनले बताए । सहमति नहुँदा मृतक केशरबहादुर सिंहको शव पोस्टमार्टम हुन सकेको छैन । यद्यपी पुनः प्रदर्शनमा उत्रिएको समूहसँग पनि समन्वयको प्रकिया अघि बढेको उनले जानकारी दिए ।
मंगलबार बिहान जुम्लारोडमा ट्रिपरले किच्दा कालिकोटका २१ वर्षीय युवा केशरबहादुर सिंहको मृत्यु भएपछि तनाव चुलिएको थियो । माग पूरा नहुँदा युवाको शवको पोस्टमार्टम पनि भएको छैन । प्रशासनले भने यस्तै अवस्था भइरहे आँफै पोस्टमार्टमको प्रक्रिया अघि बढाउने बताएको छ ।