तुलसीपुर : नेपाल संस्कृत विश्वविद्यालय अनुसन्धान केन्द्रले वेलझुण्डीमा विद्यावारिधी पिएचडीको कक्षा सुरु गरेको छ ।
विश्वविद्यालयले विगतदेखि नै विद्यावारिधीको कक्षा सञ्चालन गरेको भएपनि केन्द्रीय विश्वविद्यालयमै त्यसको अध्यापन हुने गरेको थिएन । विश्वविद्यालयले वुधवारबाट विद्यावारिधीको कक्षा सुरुवात गरेको हो ।
अनुसन्धान केन्द्रका प्रमुख डा।काशिनाथ न्यौपानेको अध्यक्षमा भएको कार्यक्रममा उपकुलपति रमेश ढकालले दाङमै विद्यावारिधी सुरु हुनु यस क्षेत्रका लागि गर्वको कुरा भएको वताए ।
कार्यक्रमका विशिष्ट अतिथि कुलसचिव माधव अधिकारीले विभिन्न आधा दर्जन विषयमा विद्यावारिधीको अध्यापन सुरु भएको जानकारी दिए । कार्यक्रममा प्राध्यापक कृष्णचन्द्र शर्माले पिएचडीले यो विश्वविद्यालय र समग्र जिल्ला वासीको लागि खुसी मान्नु पर्ने तर्क गरे ।
जिल्लामै विद्यावारिधीको कक्षा सुरु हुनुले यस क्षेत्रको प्राज्ञिक उन्नयनमा महत्वपूर्ण उपलब्धि हासिल भएको मान्न सकिने गणितका विद्यार्थी पर्शुराम चौधरीले वताए । उनले लामोसमयदेखि विद्यावारिधी गर्ने आफ्नो सपना पुरा अब हुने आशा व्यक्त गरे ।
विश्वविद्यालयमा गणित, राजनीति शास्त्र, अँग्रेजी, नेपाली, अर्थशास्त्र, संस्कृतका विभिन्न विषय र योगचिकित्सामा विद्यावारिधीको अध्ययन सुरु गरिएको विश्वविद्यालय प्रशासनले जानकारी दिएको छ ।