तापक्रममा हुने तलमाथिका कारण बढीमा १ प्रतिशत तेल नोक्सान हुने मापदण्ड आयल निगमकै छ, तर तेल चोर्न पाउनुपर्छ भनेर आन्दोलन गरिरहेका चालकसँग निगमले नोक्सानीको यो मापदण्ड नै खारेज गरिदिएको छ, अब चालक र कर्मचारीले मिलेमतो गरी नोक्सानीको नाममा जति पनि तेल चोर्न पाउनेछन्
तेल चुहावटलाई मान्यता दिनुपर्ने मागसहित हडतालमा उत्रेका ढुवानीचालकसँग नेपाल आयल निगमले ‘तेल चोरीलाई मान्यता दिने गरी’ सहमति गरेको छ । निगमले ‘तापक्रमबाट हुने इन्धन नोक्सानीको कुनै पनि सीमा नतोकिने सहमति’ गरेको हो, जसले ट्यांकरचालक र कर्मचारीको मिलेमतोमा जति पनि तेल चोर्न पाउने बाटो सहज बनाइदिएको हो ।
हवाई इन्धन ढुवानीमा ‘तापक्रम नोक्सानी’मा कुनै माप दण्ड नहुनुपर्ने माग गर्दै ट्यांकरचालकले शुक्रबारदेखि ढुवानी ठप्प गरेका थिए । निगमले आफ्ना माग पूरा गरेपछि चालकहरूले मंगलबारदेखि नै हडताल फिर्ता लिएका छन् ।
निगमको विनियमावलीमा मापदण्डमा तापक्रमबाट नोक्सानी बढीमा १ प्रतिशत हुने व्यवस्था गरिएको छ । यसको अर्थ रक्सौलबाट ट्यांकरमा लोड गरिएको तेल काठमाडौं आइपुग्दा एक प्रतिशतसम्म कम भए पनि त्यसलाई मान्यता दिने व्यवस्था छ । एक प्रतिशतभन्दा ५० लिटरसम्म तेल कम भेटिए चालकलाई प्रचलित बजार मूल्यअनुसार जरिवाना तिराउने व्यवस्था छ । तर, तापक्रम नोक्सानी १ प्रतिशतका अतिरिक्त थप ५० लिटरभन्दा बढी तेल नभेटिए चालकलाई बजार मूल्यभन्दा दोब्बर जरिवाना गरिन्छ । यही व्यवस्था खारेज गर्नुपर्ने मागसहित शुक्रबारदेखि चालकहरूले हवाई इन्धन ढुवानी बन्द गरेका थिए । उनीहरूसँग दुई चरणको वार्तापछि निगम मंगलबार तापक्रमबाट हुने नोक्सानीको कुनै मापदण्ड लागू नहुने सहमति गर्न तयार भएको हो, जसबाट तेल चोर्न सजिलो हुनेछ ।
सहमतिमा भनिएको छ, ‘लोडिङ परिमाणको एक प्रतिशतभन्दा बढी तापक्रम नोक्सानी हुने अवस्थामा एक प्रतिशतभन्दा बढी नोक्सानीमा मूल्य तिर्नुपर्ने व्यवस्था भएको सन्दर्भमा इन्धन लोडिङ गर्ने डिपोमा हुने ट्यांक–ट्रकमा भएको इन्धनको तापक्रम र ट्यांक–ट्रक खाली गर्ने डिपोमा हुने ट्यांक–ट्रकमा भएको इन्धनको तापक्रममा हुने फरक जति हुन्छ, सोहीअनुसार तापक्रम फरकले हुने परिमाणको घटीबढीको व्यवस्था यथाशीघ्र लागू गरिने ।’
यो व्यवस्था लागूपछि इन्डियन आयल कर्पोरेसन ९आइओसी० को रक्सौल डिपोबाट हवाई इन्धन लिएर सिनामंगल डिपो आएको ट्यांकरमा तापक्रम अन्तर आफूखसुी राख्न सक्ने सुविधा कर्मचारी र चालकले पाएका छन् । यो सहमतिले वास्तविकभन्दा बढी तापक्रम अन्तर देखाएर तेल चोरीका घटना बढ्ने देखिन्छ ।
चालकहरूको माग सम्बोधन गर्ने क्रममा उपयुक्त विधि निकालिएको आयल निगमको दाबी छ । निगमका प्रबन्ध निर्देशक सुरेन्द्रकुमार पौडेलले इन्धन अपचलन हुन नदिने गरी चालकसँग भएको सहमति कार्यान्वयन गर्ने बताए । ‘लकिङ गरेपछि चालक र कर्मचारीले चाहेजसरी इन्धन अपचलन गराउन सक्छन् भन्ने कुरामा मलाई विश्वास छैन,’ उनले भने, ‘अर्कातिर यसअघि भएको अधिकतम सीमासम्म कुनै पनि ट्यांकरबाट इन्धन नोक्सान भएको देखिँदैन । त्यसैले सो मापदण्ड हटाउँदा नोक्सानी धेरै हुन्छ भन्ने लाग्दैन ।’
उनका अनुसार रक्सौल–काठमाडौंबीच पछिल्लो दुई वर्षमा बढीमा १० डिग्रीको तापक्रम अन्तर भेटिएको छ । त्यसैले सोहीअनुसारको तापक्रम रेकर्ड हेरेर आगामी दिनमा नोक्सानी दर निक्र्यौल गर्ने उनको भनाइ छ ।
यसरी हुन्छ तेल चोरी
वास्तविकभन्दा बढी तापक्रम देखाएर
रक्सौल डिपोले ट्यांकरमा हालिएको तेलको तापक्रम लिइन्छ । त्यसपछि काठमाडौंको सिनामंगल डिपोमा छिरेको सोही ट्यांकरको इन्धनको तापक्रम लिइन्छ । काठमाडौंभन्दा रक्सौलको तापक्रम बढी हुने भएकाले जति डिग्री फरक आउँछ, त्यसका आधारमा तेलको नोक्सानी दर निर्धारण हुन्छ, किनभने तातो ठाउँमा हालेको तेल चिसो ठाउँमा आएर खन्याउँदा घट्ने मान्यता छ । एक डिग्री तापक्रम घट्दा २० हजार लिटर तेल भरिएको ट्यांकरमा १५ लिटर तेल नोक्सान हुने निगमको मापदण्ड छ । रक्सौल र काठमाडौंबीच अधिकतम १३।५ डिग्रीको अन्तर हुने सूत्र तयार गरी निगमले २० हजार लिटरका ट्यांकरमा अधिकतम २ सय २ लिटर तेल नोक्सान हुने मापदण्ड तोकेको हो । प्रतिट्यांकर २ सय २ लिटरभन्दा बढी तेल चुहावट भए निगमले चालकलाई जरिवाना तिराउँदै आएको थियो ।
तर, मंगलबारको सहमतिपछि रक्सौल र काठमाडौंबीच हुने तापक्रम अन्तरको सीमा हटाइएको छ । रक्सौलबाट ल्याएको तेल काठमाडौं आइपुग्दा जति धेरै तापक्रम फरक देखाए पनि चालक र कर्मचारीलाई दोषी देखाइनेछैन । यसबाट उनीहरूलाई अपचलन गर्ने बाटो खुलेको छ । रक्सौल र काठमाडौंको तापक्रम औसतमा ६–७ डिग्री फरक छ । तर, विभिन्न बहानामा चालक र कर्मचारी मिलेमतो गरी १० डिग्रीसम्म फरक देखाउने गरिएको पनि छ । १० डिग्री देखाइएमा एक ट्यांकरबाट ६० लिटरसम्म फरक पर्न सक्छ ।
ट्यांकरलाई चिसो त्रिपालले छोपेर
रक्सौलमा हवाई इन्धन लोड भएका ट्यांकर ३–४ दिनसम्म बाटोमै बसेर मात्र सिनामंगल डिपोमा आउने गर्छन् । बाटोमा ट्यांकर रहुन्जेलसम्म चालकहरूले पानीले भिजेको त्रिपालले छोपेर राख्छन् । पानी नै छ्यापेर चिस्याउँछन् । यसबाट तेल चिसो भएर तापक्रम अन्तर बढी हुन आउँछ र यसको फाइदा चालक र कर्मचारीले उठाउँछन् । चिसो त्रिपालले ट्यांकर छोपिएको भेटिए कारबाही गर्न प्रहरीलाई निगमले पटक–पटक पत्राचार गर्ने गर्छ । सुधार भएको छैन ।
चोरीको तेल पम्पलाई बेचेर
यी दुवै तरिकाबाट डिपोपरिसरमै तेल चोरी हुने हो, किनभने रक्सौलमा लकिङ भएको ट्यांकर निगमको डिपोमा आएर खोल्ने गरिन्छ । त्यसैले डिपोले झिकेको तेल विमान कम्पनीलाई भने दिने गरिएको छैन । हवाई इन्धन सबैभन्दा राम्ररी मट्टीतेलमा मिसिने भएकाले ठूला मट्टीतेल विक्रेतालाई केही परिमाण दिइन्छ । हवाई व्यावसायिक स्रोतका अनुसार चोरीको हवाई इन्धनको ठूलो हिस्सा तराईका पम्प व्यवसायीले खरिद गर्छन् । किनभने, डिजेल र पेट्रोलमा पनि हवाई इन्धन सजिलै मिसिन्छ । बजार मूल्यभन्दा धेरै सस्तोमा व्यवसायीले चोरीको हवाई इन्धन किनेर पम्पबाट बिक्री गर्छन् यो खवर आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।