– कवि श्यामल
ग्लोब बाटुलो छ र त्यो हलुवावेदजस्तो रातो छ
त्यो सुन्तला वा स्याउको दानाजस्तो सुन्दर छ
ग्लोब एउटा छ तर त्यसका दुई ध्रुवहरू छन्
अक्षांश र देशान्तरका धमिला धर्साहरू कोरिएको
ग्लोबमा एउटै घाम फिँजिन्छ र सेताम्मे हुन्छ एउटै जून
तर पृथ्वी हलुवावेद सम्झेर एक बटालियन बाँदरहरू
खुशीले पागल हुँदै
आफ्ना पापी हातले टिप्न मन गर्छन्
उफ्रँदै आफ्ना लोभी आँखाहरूले
पृथ्वी गोबर बनाउन लालायित छन्
र
सभ्यताको पोशाकमा ठाँटले
आफ्ना रोगी छिमेकीको घाउ कोट्याउँदै
कानुन छाद्ने गर्छन्
परम्परामा ढलोट एक हूल बाँदरहरू
ग्लोबभित्र जङ्गल छ
जङ्गलका खुला मैदानहरूमा
अनियमित र घातक खेलहरू खेल्न
मस्त छन् बाँदरहरू।
केही निश्चित अर्थहरूको तुम्बा बोकेर
बूढो संन्यासीजस्तो
एउटा पुरानो ग्लोब हाजिर छ हाम्रो सामु
चिसो स्याँठ चलिरहने घरहरू छन् ग्लोबमा
र आगलागीले खरानी झ्याल–ढोकाहरू छन्
बगैँचाको मतलब नष्ट भएको छ
र ग्लोब भ्रष्ट भएको छ हाम्रै सामु
ग्लोब असमान छ र अनुहारभरि डन्डीफोर छ
फोका र खटिराहरूले लतपत
यसका इन्द्रियहरूबाट बगिरहेछ पीपको कुलो
सिँगान पुछ्न नसक्ने फोहोरी मानिसको
रङ्गिन फोटोजस्तो छ ग्लोब
जसको एक धु्रवमा हिउँ जमिरहन्छ
र अर्को धु्रवमा तातो बालुवाको देश छ
तर म हेरिरहेछु–
ग्लोब एउटा छ, बाटुलो र रङ्गिन पनि छ
त्यसलाई नरिवल ठानेर खेलाइरहेछन् बाँदरहरू।