काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले मंगलबार बिहान संयुक्त रूपमा भिडियो कन्फेरेन्समार्फत् विराटनगर(जोगबनी एकीकृत चेक पोस्टको उद्घाटन गरेका छन्। उद्घाटनसँगै संयुक्त चेकपोष्ट सञ्चालनमा आएको छ।
नेपालको आयात निर्यात व्यापारलाई सहजीकरण गर्न उक्त चौकी स्थापना गरिएको हो । विराटनगर –१८ मा पर्ने भेडियारीमा १ सय २९ बिघा जमिनमा निर्माण भएको आइसीपी भारत सरकारको २ अर्ब १० करोडको लागतमा निर्माण सम्पन्न भएको हो ।
वाणिज्य मन्त्रालयका सहसचिव नवराज ढकालले दुबै मुलुकका प्रधानमन्त्रीले डिजिटल माध्यमबाट एकै साथ स्वीच थिच्दै आइसिपीको उदघाटन गरेको जानकारी दिए । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंस्थित कन्ट्रोल रुमबाट र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो कार्यालयबाट स्विच थिचेपछि विराटनगर आइसिपीमा भएको पर्दाको अनावरण भएको थियो ।
उदघाटन लगतै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइसिपी नेपाललाई हस्तान्तरणको घोषणा गरेका छन् भने नेपालका प्रधानमन्त्रीले त्यसको स्वामित्व ग्रहण गरेका छन् । नेपाल इन्टरमोडेल ट्रान्सपोर्ट डेभलपमेन्ट बोर्ड अन्तरगत आइसिपीको स्वामित्वमा रहनेछ । यसको सञ्चालन भने विराटनगर भन्सार कार्यालयले गर्नेछ । आईसीपी उद्घाटनका क्रममा नेपाली प्रधानमन्त्री ओलीले यो दुई मुलुकबीचको सम्बन्धको उदाहरण भएको बताए ।
उनले भारतसँग नजिक रहेर नेपालले काम गर्न चाहेको पनि बताए । ‘यसले दुई देशको सम्बन्ध थप उचाइमा पुगेको छ । बाँकी रहेका केही विषयमा पनि दुई देशबीच बसेर समस्या समाधान गर्नुपर्नेछ,’ भिडियो कन्फरेन्समा ओलीले भने, ‘त्यसका लागि नेपाल सरकार आतुर छ ।’ भिडियो कन्फरेन्सका क्रममा प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीलाई नेपाल भ्रमणको निम्तोसमेत दिए ।
यता भिडियो कन्फरेन्समै भारतीय प्रधानमन्त्री मोदीले नेपालको आवश्यकताअनुसार सहयोग गर्न भारत तयार रहेको बताएका छन् । ‘हाम्रो सम्बन्ध छिमेकी मात्रै होइन, भुगोल, प्रकृतिले पनि जोडेको छ । दुई मुलुकबीच हुने सञ्जालले दुई देशबीचको आर्थिक विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने छ,’ मोदीले भने, ‘आईसीपीले दुई देशबीचको व्यापारलाई सहज र सरल बनाउने छ ।’
उनले आगामी दिनमा यस्तै सहयोग जारी रहने बताएका थिए । भारतीय प्रधानमन्त्री मोदीले भने सुरुमा नेपालीमा सम्बोधन गर्दै भने, ‘नमस्कार, कस्तो छ ?’ मोदीले नयाँ दशक स्वर्णिम दशक बनाउने पनि बताए । यस्तै नेपाली समकक्षी ओलीको स्वास्थ्यलाभको कामनासमेत गरेका थिए ।अन्त्यमा नेपाली भाषामा मोदीले भने, ‘तपाईहरु सबैलाई धेरै शुभकामना दिन्छु, फेरि भेट होला । नमस्कार ।’