सुर्खेत : सुर्खेत लगायत तराइका कैलाली, कञ्चनपुर, बाँके र बर्दियाका थारु बस्तीमा अहिले माघीको रौनक बढेको छ । गाउँ बस्ती आसपास नदीहरुमा सरसफाई गर्न युवाहरु परिचालित भइसकेका छन् ।
थारु समुदायले थारु संवत २६४२ को भव्य विदाई गर्ने र २६४३ को स्वागतका लागि गाउँटोललाई सजाएका छन् । मघौटा, धमार झुम्रा नाचमा रमाउन थारु समुदाय आतुर छन् ।
काम विशेषले बाहिर रहेका थारु समुदायका मानिस जन्मथलो पुग्न थालेका छन् । ‘जीता’ (बंगुर) को उचित व्यवस्था घरघरमा भइसकेको छ । बुबा आमाको मायाको प्रतिक निश्राउको मायाले विवाहीत चेली माइतीघर पुगिसकेका छन् । अन्य सुमुदायले माघीका रुपमा मनाउने माघे संक्रान्तिलाई थारु समुदायले नयाँ बर्षका रुपमा पनि मनाउने गर्दछन् ।
समुदायको मौलिक संस्कृति र भेषभुषको आफ्नै विशेषता छ । जसमा उनीहरु भरपुर आनन्द लिने गर्दछन् । पर्वको तयारीका लागि खाद्यान्नहरुको जोहो गर्ने, दुना टपरी गाँस्ने, जङ्गल गई दाउरा सङ्कलन गर्ने, तोरीको खाने तेल पेल्ने, घर लितपोत तथा आँगन सरसफाइ लगायतका कामहरु सकिएका छन् ।
सुर्खेतको नयाँ गाउँ, पातलगंगा लगायतका स्थानमा पनि माघी मनाउन विशेष चहल पहल शुरु भएको छ । सुर्खेतमा ३६ वटा थारु बस्तीहरु रहेका छन् । ती वस्तीहरु अधिकांश रत्न राजमार्गको दक्षिण वा दक्षिण पश्चिममा रहेका छन् । सुर्खेतका थारुहरु माघ १ गतेको अघिल्लो रात भर जाग्राम बस्ने, राती विभिन्न कन्दमुलहरु उसिनेर वा पकाएर खाने, सुगुँर, हाँस, भेडा लगायतका पशुपंक्षी काट्ने र ढिकुरी, रक्सी बनाउने लगायतका कार्यहरु गर्ने गरेको पातलगंगाका थारु मुखिया धनिराम थारुले बताए । उनी ३० बर्ष देखि मुखियाका रुपमा रहेका छन् ।
सुर्खेतमा यो बर्ष नै नयाँ गाँउमा थारु होम स्टे समेत सञ्चालन गरिएको छ । थारु होमस्टेमा माघी मिलन कार्यक्रममा भेटिएका मानबहादुर चौधरी पन्नाले माघी पर्व आँफुहरुको नयाँ बर्ष पनि भएको बताए । यो दिन थारु बस्तीहरुमा नयाँ गुरुवा छान्ने र मिठो मिठो खानेकुरा खाएर मनाउने गरेको उनको भनाई छ ।
थारु होमस्टेका सञ्चालक मध्यका एक राजन चौधरीले यो पर्वका लागि आँफुहरुले होम स्टेमा आउने पाहुनाका लागि थारु विशेष परिकारले स्वागत गर्ने बताए । घुंगी, हाँस, कुखुरा र सुँगुरको मासु, सिद्रा माछाको चट्नी, मुसाको मासु, अनदीको भात वा जाँड, बटाईको मासु लगायतका परिकारले थारु बस्ती नै भरिभराउ भएको उनको भनाई छ । कर्णाली सरकारले माघ १ गते सार्वजनिक विदा समेत दिएको छ । पाहुनालाई स्वागत गर्न थारु पहिरनमा सजिएकी युवतीहरु सहित होस्ट खवरले लिएका केही तस्विरहरु :