काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले उपसभामुख शिवमाया तुम्बाहाङ्फे सँग राजीनामाको माग गर्ने निर्णय गरेको छ ।
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले उपसभामुखलाई राजीनामा गर्न आग्रह गर्ने निर्णय गरेको हो ।
प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार, सभामुख पद नेकपाले राख्न उपसभामुखलाई राजीनामाका लागि आग्रह गर्ने निर्णय गरेको हो ।
बलात्कार अभियोगमा कृष्णबहादुर महराले राजीनामा दिए पछि रिक्त पदमा कसलाई पठाउने भन्नेबारे भने नेकपाले निर्णय गरिसकेको छैन । उपसभामुखले राजीनामा गरे पछि सभामुखबारे छलफल हुने प्रवक्ता श्रेष्ठले बताए ।
गएको असोज १३ गतेबाट रिक्त रहेको सभामुख पदका निर्वाचनका लागि आइतबारबाट प्रतिनिधिसभामा प्रक्रिया शुरु गरिने बताइएको थियो। तर, नेकपाले उम्मेदवार टुंगो लगाउन नसकेपछि आइतबार यो प्रक्रिया शुरु हुनेमा पनि आशंका बढेको छ।
संवैधानिक व्यवस्थाअनुसार एउटै पार्टीबाट सभामुख र उपसभामुख हुन नपाइने भएकाले नेकपाले सभामुख आफ्नो पार्टीबाटै बनाउन उपसभामुख तुम्बाहाम्फेको राजीनामा मागेको हो। तर, उनले राजीनामा दिने वा नदिने भन्ने विषयमा भने केही प्रतिक्रिया आइसकेको छैन।