के फल्यो बोटमा हो कि नौनी चिनी
सक्छ के भन्न यो पारखीले चिनी।
पात छैनन् कि छन् ढाकिए च्यापिए
हैम साम्राज्यका माधुरी देखिए।।
कोर्छ बुट्टाहरू भूमिमा मेघले
थेग्न खोजी उठे बोट आफैँ ढले
वृक्ष शाखाहरू लच्चिए ओजले
राख्छ सेता भुवाँ चट्ट हेमन्तले।।
खेतमा खर्कमा मार्गमा बोटमा
भूमि छाना गरा खोरमा गोठमा।
पोतिएझैँ कमेरो सबै ठाउँमा
राख्छ सम्पत्ति हेमन्तले दाउमा।।
धोइएझैँ सफा शैलका टाकुरा
ढाक्छ नौनी झरी अग्लिएका धुरा।
वस्त्र सेता सफा रम्छ आनन्दमा
रूप फेर्छे धरा नित्य हेमन्तमा।।
कवि वासुदेव पाण्डेय,
उप प्राध्यापक, मध्यपश्चिमाञ्चल विश्वविद्यालय, सुर्खेत ।