सुर्खेत : सुर्खेतमा मात्रै १ हजार ८ सय बढि छाउगोठ भएको समाचार आएपछि जिल्ला प्रशासनको नेतृत्वमा पश्चिम सुर्खेतमा त्यस्ता गोठ भत्काउने अभियानले तिब्रता पाएको छ ।
जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा विभिन्न संघ संस्था तथा सरोकारवालाहरुको टोली पश्चिम सुर्खेतको चौकुने, पञ्चपुरी लगायतका क्षेत्रमा सक्रिय भएको हो ।
जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासकिय अधिकृत उत्तम शर्मा रिजालले केन्द्र सरकारबाट सञ्चालन भएको अभियान अन्र्तगत नै छाउगोठ भत्काउन अहिले आँफुहरुको टोली बाबियाचौर आइपुगेको बताए । गृह मन्त्रालयका अनुसार सुर्खेतमा अहिलेसम्म ३ सय छाउगोठ भत्काइसकिएको छ । जाजरकोटमा ५, सल्यानमा २, दैलेखमा १७ छाउगोठ भत्काइएको छ ।
छाउगोठ नष्ट गर्नका लागि यी जिल्लाका जनप्रतिनिधि, संघसंस्था, संचारकर्मी, मानअवधिकारवादी, धार्मिक अगुवा, शिक्षक र विद्यार्थी, युवा क्लब र स्वास्थ्यकर्मी लगायतलाई सहभागी गराएर कार्यक्रम संचालन भइरहेका छन् ।
प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिले महिनावारी भएको बेला छाउगोठमा बस्ने महिला र बस्न लगाउने अभिभावकलाई कडा कारबाही गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ भने सरकारबाट प्राप्त गर्ने सेवा सुविधाबाट समेत बञ्चित गरिने सरकारले सूचना जारी गरेको छ ।