काठमाडौं : लोकसेवा आयोगले राजपत्र अनंकित प्रथम श्रेणी नायब सुब्बा स्तरमा एक हजार पदमा नयाँ विज्ञापन आह्वान गर्ने भएको छ ।
आयोगले नायब सुब्बातर्फ प्राविधिक र अप्राविधिक गरी बुधबार एक हजार पदमा नयाँ भर्ना आह्वान गर्ने गृहकार्य अन्तिम चरणमा पुर्याएको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार नायब सुब्बातर्फ भर्ना खुला गर्ने निर्णय गरेसँगै लोकसेवाले नायब सुब्बाको विज्ञापन गर्ने निश्चित भएको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार संघअन्तर्गत देशभरका विभिन्न कार्यालयमा गरी नायब सुब्बा स्तरमा एक हजार पद रिक्त छ । सोही रिक्त पदमा सम्बन्धित कार्यालयको मागका आधारमा लोकसेवा आयोगले पदपूर्ति गर्न लागेको हो ।
सामान्य प्रशासन मन्त्रालयका अनुसार बुधबार लोकसेवा आयोगद्वारा माग गर्न लागिएको पदमध्ये प्रशासनतर्फ ४ सय, लेखातर्फ १ सय बढी र राजस्वतर्फ झन्डै ५० छ । यसैगरी कृषि वनलगायत अप्राविधिक सेवातर्फ झन्डै ५ सय पदमा विज्ञापन आह्वान हुन सक्ने लोकसेवा आयोगले जनाएको छ ।