कपिलनाथ योगी
शिशु कक्षामा पढ्ने सानो नानीले ‘क’ लेख्न नजानेर
जसरी बारम्बार इरेजरले मेट्छिन
अनि प्रत्येक चोटि जसरी अर्को नमिलेको नयाँ ‘क’ बन्छ
आजभोलि सामाजिक किताबमा मात्र भेटिने मेरो देशको
पुरानो मानचित्रको मधुरो सिमाना
ठिक त्यसरी नै बेला बेला सजिलै मेटिनु
अब सामान्य भैसकेछ,
र पनि हामी #वीरगोर्खाली मौन छौ।
मेटिएर बनेको नयाँ ‘क’ मा
कहाँनेर के मिलेन त भन्ने-
घरमा आमा अनि स्कुलमा गुरुआमा हुनुहुन्छ नानीको
तर मिलिरहेको हाम्रो मानचित्रको सिमाना बारम्बार मेटिदा
यो त मिलेन है भन्नू पर्ने आखिर कसले होला?
नमिलेको देश त-
पत्रीकाको फ्रन्ट पेजको मसालेदार समाचार बनिरन्छ
मिलेको तर
मेटिदै गइरहेको देशको मानचित्रको सिमाना
किन मौनताको लामो सासमा कतै निसास्सी रहन्छ?
यो समाचार लेख्न सक्ने कलम नै नबनेको हो कि?
वा यो समाचार कसैलाई मसालेदार नभई तितो लाग्छ?
या त यो समाचार पनि नानीको नमिलेको ‘क’
अनि हाम्रो देशको मिलेको मानचित्रको सिमाना जस्तै मेटिन्छ?
यहि हाम्रो मौनताको टेबल माथी हाम्रो देश राखेर
फेरि कुनै दिन विरताको रेखा
ती नानीको नमिलेको ‘क’ जस्तै
मिलेको मेरो देशको अर्को सिमाना फेरि चाडै मेटिनेछ
किन यसरी बारम्बार सिमाना मेटिदैछ?
आखिर मेरो देशले लेख्न नजानेको के हो होला?