डोटी : नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न जिल्लामा तीव्र रूपमा तयारी सुरुआत गरिएको छ । भ्रमण वर्ष आउन केही दिन बाँकी रहँदा दिपायल सिलगढी नगरपालिका सहित अन्य आठै स्थानीय तहले भव्यरूपमा उद्घाटन गर्नेगरी आ–आफ्नो तयारी तीव्ररूपमा गरिरहेका छन् ।
यहाँका स्थानीय तहले आ–आफ्नो क्षेत्रमा भएका पुराना कला संस्कृतिको प्रचारप्रसार गर्न अभियान नै सञ्चालन गरेका छन् । भ्रमण वर्षको दिन दिपायल सिलगढी नगरपालिकाले शिखर नगरपालिकाको गहनानबाट दिपायल सिलगढी नगरपालिका नारिदाङसम्म जलयात्रा ९¥याफ्टिङ० को आयोजन हुने छ ।
भ्रमण वर्षमा आएका पहुनालाई जलयात्रा गर्न सजिलो होस् भन्ने उद्देश्यले उक्त जलयात्राको आयोजना गरिन लागेको दिपायल सिलगढी नगरपालिकाका नगरप्रमुख मञ्जु मलासीले जानकारी दिए ।
त्यस्तै नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन दिवसका लागि विभिन्न समन्वय समितिरउपसमिति गठन गरिएको छ । उक्त गठित समितिले सांस्कृतिक झाँकी तथा (याली प्रदर्शन गर्ने छन् ।
भ्रमण वर्ष मनाउन गठित मूल आयोजक समितिले उद्घाटनका क्रममा जिल्ला सदरमुकाम सिलगढीको इन्द्रचोकदेखि पिपल्ला, दिपायल तथा राजपुरलगायतका स्थानबाट कलशसहितका शोभा (याली निकाल्ने कार्यक्रम रहेको जनाइएको छ ।
उक्त समितिमा नेपाल प्रहरी, समन्वय समिति, प्रचारप्रसार उपसमिति, धार्मिक तथा सांस्कृतिक उपसमिति, डोटी उद्योग वाणिज्य सङ्घ, नेपाल चेम्बर अफ कमर्श, होटल व्यवसायी सङ्घ सदस्य रहेका छन् ।
त्यस्तै जिल्लाका विभिन्न स्थानीय तहका प्रमुख, सरकारी अधिकारी, राष्ट्रिय तथा अन्तरराष्ट्रिय गैरसरकारी संस्था, निजी क्षेत्र, सङ्गठित सङ्घसंस्था, शैक्षिक संस्था, सामुदायिक संस्था तथा क्लब आदिको सहभागिता रहने जनाइएको छ ।
स्थानीय कला संस्कृति झल्कने झाँकी प्रदर्शनी, स्थानीय कलाकारको प्रस्तुतिलगायत सांस्कृतिक कार्यक्रम समावेश गरिने दिपायल सिलगढी नगरपालिकाले जनाएको छ ।
त्यस्तै एक निकाय एक अभियान सञ्चालन गर्न सबै सरकारी, गैरसरकारी, निजीक्षेत्रलगायतका सरोकारवालाहरूलाई आह्वान गर्ने, जिल्ला सम्पूर्ण सरकारी कार्यालयलाई अनिवार्यरूपमा गेटमा कलश राख्न अनुरोध गर्नेलगायतको निर्णय भएको जनाइएको छ । त्यसैगरी भ्रमण वर्ष सफल पार्न जिल्लामा पर्यटन व्यवसायी तथा होटल व्यवसायी पनि आफ्नो क्षेत्रबाट सक्रिय भएका छन् ।
यहाँका निजी क्षेत्रले आ–आफ्नो क्षेत्रबाट प्रचार–प्रसारका काम शुरु गर्न थालेका छन् । अहिले जिल्लामा रहेका होटल व्यवसायीले आफ्नो होटल तथा रेष्टुराँको सरसफाइदेखि नयाँ भौतिक संरचना निर्माण गर्न जुटेका छन् । सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तडमा पर्यटक भित्र्याउनका लागि सम्पूर्ण सडकको स्तरोन्नति गरिन थालिएको छ ।
सिलगढीदेखि झिग्रानासम्मको सडक कालोपत्रको काम तीव्रगतिमा जारी रहेको छ । भ्रमण वर्षमा आउने पर्यटक तथा पाहुनालाई गुणस्तरीय बास व्यवस्थापन गर्नका लागि होटल तथा रेष्टुराँ व्यवसायी रातदिन खटेर लाग्न थालेको होटल व्यवसायी सङ्घ डोटीका अध्यक्ष राजेन्द्रविक्रम शाहीले जानकारी दिए ।
त्यस्तै पुराना कला–संस्कृतिको प्रदर्शनको पूर्वअध्ययन तथा मठमन्दिरमा सरसफाइ कार्यक्रम पनि शुरु गरिन थालिएको छ । जिल्लामा पर्यटक आकर्षित गराउने स्थानमा खप्तड, शैलेश्वरी मन्दिर, डोटेली राजाको दरबार, निरौली दरबार, बडीकेदार मन्दिर रहेका छन् भने यहाँको कला–संस्कृतिमा हुड्के, छलिया, भुवाँनाच, डेउडा लगायतका रहेको शैलेश्वरी मन्दिरका पुजारी प्रेमशङ्कर भट्टले जानकारी दिए ।
सुदुरका पर्यटकिय स्थलमध्य खप्तड अलौकिक
वास्तवमा खप्तड अलौकिक छ । सुन्दर छ । अनुपम छ । धार्मिक, सांस्कृतिक एवं आध्यात्मिक सबै हिसाबले अद्वितीय छ । खप्तडमा सिजनअनुसार जंगली फूल, हिउँ फूल तथा हिमाल हेर्न पाइन्छ । अपी र साइपाल हिमाल प्रस्टै देखिन्छन् । अन्य थुप्रै हिमशृंखला खप्तडको समानान्तर देखिँदा मन प्रफुल्ल हुन्छ ।
यहाँका फराकिला ठूला पाटनले बेलायतको घाँसे मैदानलाई बिर्साउँछ । खप्तडमा वर्षभरि घुमे पनि अघाइँदैन । दुर्लभ जीवजन्तु, वनस्पति एवं अनुपम प्राकृतिक छटायुक्त खप्तडले भूस्वर्गको उपमा त्यसै पाएको होइन । खप्तड काव्ययात्रा पुस्तकमा राष्ट्रिय गानका रचनाकार तथा गीतकार व्याकुल माइलाले खप्तड घुमफिरपछि लेखेका छन्–‘नेपाल कति पवित्र, सुन्दर र धनी छ भन्ने कुराको एउटा ज्वलन्त उदाहरण हो–खप्तड ।’
थरीथरीका फूल फुलेर रंगीन हुने खप्तडका पाटनको दृश्य उत्तिकै लोभलाग्दो हुन्छ । महँगो अत्तर बिर्साउने फूलको मगमग वासनाले खप्तड पुग्ने जोसुकैको आँत हरर्र बनाइदिन्छ । चैतदेखि कात्तिकसम्म फूलैफूलले ढाकिने खप्तड हिउँदमा सेतो आँचलमा छोपिन्छ । चिसो भए पनि परिवेश रोमाञ्चक भैदिन्छ । पर्यटकहरू खप्तडमा जुनसुकै बेला रमाउन सक्छन्, खप्तडबाट प्राकृतिक प्रेम सिक्न सक्छन् ।
०४३ असार ९ मा स्थापना भएको खप्तड राष्ट्रिय निकुञ्जको क्षेत्रफल २ सय २५ वर्गकिलोमिटर छ । निकुञ्ज कार्यालयका अनुसार यो निकुञ्जअन्तर्गत वन क्षेत्र १ सय ९९ दशमलव ७३, घाँसे मैदान १३ दशमलव ४७, कृषि भूमि ९ र झाडी बुट्यान २ दशमलव ८० वर्गकिलोमिटर छ । यहाँ ५२ पाटन ९चौर०, ५३ थुम्का तथा २२ वटा दह छन् । खप्तडमा ३ सय ८२ प्रकारका रुख, वनस्पति तथा जडीबुटी पाइन्छन् जसमा रूख ५७, बुट्यान ७८, घाँसपात २ सय ३, लहरा ८ र उन्यू १९ प्रजातिका छन् । यो क्षेत्र कालकूट, पाँचऔंले, नीरमसीजस्ता जडीबुटीको भण्डार मानिन्छ । लेकसल्लो, भोजपत्र, खस्रु, गुराँस, रानीसल्लो, उत्तीस, महुवा, लौठसल्ला आदिका रूख–वनस्पति पनि त्यहाँ पाइन्छन् ।
१२ वटा गुफा भएको खप्तड क्षेत्रमा २ सय ८७ प्रजातिका पन्छी, २३ प्रजातिका स्तनधारी, १७ प्रजातिका सरिसृप तथा ६ उभयचर प्रजातिका वन्यजन्तु पाइन्छन् । हरियो छेपारो, खस्रे भ्यागुता, बझाङे पाहा आदि दुर्लभ जीवदेखि भालु, बँदेल, कस्तूरी, चितुवा आदि जनावर खप्तडमा उपलब्ध हुन्छन् । कस्तूरी मृग, चरीबाघ तथा ब्वाँसोजस्ता संरक्षित जीव खप्तडका सम्पत्ति नै हुन् ।
खप्तडको धार्मिक एवं पौराणिक महत्व छ । स्कन्द पुराणमा खप्तडलाई ‘खेचराद्री’ पर्वत भनिएको छ । खेचर शब्द अपभं्रश हुँदै जाँदा खप्तड भएको स्थानीय बासिन्दाहरू बताउँछन् । पौराणिक कालमा मायावी शक्ति भएका देवीदेवताहरू गगनचरीको भेष धारण गरी खप्तडको आकाशमा रमाउने आर्षपुराण आदि विभिन्न धार्मिक ग्रन्थमा उल्लेख छ । देवीदेवता एवं सिद्धहरूको क्रीडास्थल खप्तड ऋषिमुनिहरूको पनि तपस्थल हो । युधिष्ठिर र पाण्डव पनि यतैबाट स्वर्ग गएको पौराणिक मान्यता छ । खप्तडको त्रिवेणी धाममा लाग्ने गङ्गा दशहरा मेला भरे मोक्ष प्राप्त हुने जनविश्वास छ । सहस्त्रलिङ्ग, केदार ढुङ्गा, नागढुङ्गा, भुदेउ ढुङ्गालाई शिवस्वरूप मानेर पूजा गर्ने चलन अहिले पनि कायमै छ ।
सुदूरपश्चिम लोकसंस्कृतिमा धनी छ । खप्तड आसपासमा ब्राह्मण, क्षेत्री, ठकुरी तथा जनजातिहरूको बसोबास छ । उनीहरूको छुट्टै वेशभूषा र परिचय छ । खप्तडमा हरेक वर्ष जेठ शुक्ल दशमीका दिन लाग्ने गंगा दशहरा मेलामा उनीहरूको संस्कृति एवं मौलिकता हेर्न पाइन्छ । उक्त मेला भर्न देश तथा विदेशका मानिसहरू भेला हुन्छन् । यो विशेषतस् चेलीबेटीले मनाउने पर्व हो । यो पर्वमा महिलाहरूले रंगीचंगी कपडाका टुक्राबाट पुतली बनाउने, पूजा गर्ने अनि साँझपख पानीको मुहान नजिकै सेलाउने काम गर्छन् । मेलामा पुतला नाच देखाउने र गीत गाउने काम हुन्छ । यसैगरी सुदूरपश्चिमको चर्चित देउडा गीत पनि यो मेलाको विशेषता हो । यतिबेला यहाँ घोडा दौडाउने प्रतिस्पर्धा पनि चल्छ ।
यिनै विविधता बोकेको खप्तडले अहिले पर्यटकहरूलाई तान्न थालेको छ । कुनै बेला गौचरनमा सीमित खप्तडका पाटनहरू अहिले पर्यटकले भरिन्छन् । बझाङको खप्तडछान्ना गाउँपालिका दारुगाउँका पुष्कर रावल भन्छन्–‘हाम्रा लागि खप्तड त गोठालो गर्ने, खर्क बस्ने ठाउँ न थियो, अहिले ‘टुरिस्ट’ घुम्ने ठाउँ भयो । खप्तडको बढ्दो प्रचार–प्रसारले गर्दा पर्यटकहरू बर्सेनि बढ्दै गएका छन् । १७ वर्षदेखि खप्तड राष्ट्रिय निकुञ्जमा कार्यरत कृष्णदत्त अवस्थीका अनुसार पछिल्ला वर्षहरूमा नयाँ अनुहार र विभिन्न उद्देश्य बोकेका मानिसहरू आउने क्रम बाक्लिएको छ । यहाँ दिनहुँ ६० देखि ८० पर्यटक आउँछन् । त्यसमध्ये पनि आन्तरिक पर्यटक बढी छन् ।
त्रिवेणीधाम
खप्तड स्वामीद्वारा लिखित धर्मविज्ञानमा उल्लेख भएअनुसार सोलिङ्ग खोला सहस्त्रलिङ्ग भएर बग्दै आउँछ । यसलाई ‘गङ्गा नदी’ भनिन्छ । डाँफेकोट भएर डाँफेकोट खोला बग्दै आउँछ । यसलाई ‘यमुना’ भनिन्छ । यसैगरी प्राचीन धर्मशाला मुन्तिर गुप्त बगेकी नदीलाई ‘सरस्वती नदी’ भनिन्छ । गङ्गा, यमुना र सरस्वतीको संगमस्थललाई नै त्रिवेणी भनिन्छ । निकुञ्जको बीच भागमा रहेको त्रिवेणी क्षेत्रमा हरेक वर्ष गङ्गा दशहराका दिन मेला लाग्छ । उक्त त्रिवेणीमा स्नान गर्दा इच्छित फल प्राप्त हुनुका साथै पाप मोक्ष हुने जनविश्वास छ ।
सहस्रलिड्ड
समुद्री सतहबाट करिब १२ हजार फिटको उचाइमा रहेका तीनवटा चुचुरा भएको ठूलो शिलालाई सहस्रलिङ्गका रूपमा पूजा गरिन्छ । यसलाई स्थानीय बासिन्दाहरूले शंकरी शिला पनि भन्छन् । उक्त शिलाको पहिलो चुचुरोमा भगवान् शिव, दोस्रोमा पार्वती तथा तेस्रोमा भगवान् गणेश विराजमान भएको धार्मिक विश्वास छ । चुचुरोभन्दा तल शिवलिङ्ग आकारका सयौं स–साना चुचुरा छन् । धार्मिक ग्रन्थहरूमा उक्त सहस्रलिङ्गको महत्व काशी विश्वनाथजत्तिकै बताइएको छ । तीर्थालुहरूले श्रद्धा–भक्तिका साथ त्यहाँ पूजाआजा गर्छन् । मनोकामना पूरा होस् भनेर सहस्रलिङ्गमा घण्ट चढाइन्छ ।
खप्तड दह र जगन्नाथको मन्दिर
करिब १ सय मिटर चौडाइ तथा ५० मिटर लम्बाइको यो तालको उद्गम र निकास छैन । यद्यपि यो दहमा बार्है महिना पानीको सतह भने एकनास रहन्छ । अर्को अनौठो कुरा यो दहका दुईवटा नाम छन् र त्यसमा दुई रंगको पानी देखिन्छ । आधा दहमा निर्मल सेतो पानी हुन्छ । यसलाई खापर दह भनिन्छ । यसलाई दुधिर वीरको रूप मानिन्छ भने धमिलो पानी भएको आधा दहलाई अशंखी भनिन्छ र त्यसलाई नीलकण्ठ कालीको रूप मानिन्छ ।
यो दहको उत्तरमा काठैकाठले बनेको जगन्नाथको मन्दिर छ । छेवैमा हवनकुण्ड छ । यो मन्दिर तेर्हौं शताब्दीभन्दा पहिले नै निर्माण भएको खप्तडको धार्मिक महत्वका अनुसन्धानकर्ता एवं पूर्व सचिव विष्णुप्रसाद खत्रीको भनाइ छ ।
अर्को अनौठो कुरा दलितलाई छोइछिटो गर्ने चलन रहेको सुदूरपश्चिममा यो मन्दिरका मूल पुजारी सार्की जातिका मानिसहरू हुनु हो । यति मात्र होइन त्यहाँ सार्की जातका पुजारीले दाँतले चपाएको चामलको अक्षता प्रसादका रूपमा चढाइन्छ । हरेक वर्ष भदौमा त्यहाँ ठूलो मेला लाग्छ । पूर्णिमाका दिन पुजारी गाउँ, बझाङबाट खापर जगन्नाथको डोली आउँछ ।
खप्तडबाबाको कुटी
घोडादाउना पाटनको पूर्वमा करिब ११ हजार फिटको उचाइमा खप्तडबाबाको कुटी छ । बझाङ राज्यका अध्येता विष्णुभक्त शास्त्रीका अनुसार माझको झुत्ती भन्ने ठाउँमा अवस्थित यो कुटी २००३ सालमा तत्कालीन बझाङी राजा रामजंगबहादुर सिंहले खप्तडबाबाका लागि निर्माण गरिदिएका थिए ।
स्लेटले छाएको यो कुटीमा योग साधना कक्ष, गर्भगृह तथा तप योग कक्ष आदि छन् । खप्तड स्वामीले त्यहाँ झन्डै ५० वर्ष साधना गरेका थिए । सुदूरपश्चिमको परम्परागत शैलीमा निर्माण गरिएको उक्त कुटीमा खप्तडबाबाले प्रयोग गरेका सामग्री, उनले लेखेका तथा अध्ययन गरेका पुस्तकलगायत अरू विभिन्न सामग्री अहिले पनि सुरक्षित छन् ।
केदारढुंगा
केदारढुंगा त्रिवेणीधाम नजिकै छ । यसको कथा महाभारतसँग जोडिएको छ । महाभारतको युद्धकालमा वंश विनाश र गोत्रहत्याको पापमोचन गर्न पाण्डवहरू खप्तडको पाटन आइपुगे । पाण्डवहरूले त्यहाँ पूजा, होम, तर्पण आदि गरेपछि उनीहरू शिवजीको दर्शनका लागि एकाग्र भए । राँगा–भैंसीको बथानमा राँगाको भेषमा विचरण गरिरहेका शिवको दर्शन टाढैबाट गरे पनि नजिकै पुग्दा ती शिवस्वरूप केदार विशाल शिलामा परिणत भैसकेका थिए । तीर्थालुहरू अहिले त्यसको पूजाआजा गर्छन् ।
माईकाथान
बझाङको खप्तड छान्ना गाउँपालिका तथा थलारा गाउँपालिकाबाट खप्तड प्रवेश गर्ने पहिलो पाटन नजिक खडुली र दुदुली देवीका दुई अलग–अलग मन्दिर छन् । ती दुईवटा मन्दिरको बीचमा एउटा यज्ञमण्डप छ । मन्दिर नजिकै तीनवटा धर्मशाला छन् । यहाँ हरेक चैत तथा असोज महिनाको अष्टमीका दिन पूजाआजा हुन्छ ।
कसरी पुग्ने ?
काठमाडौं–धनगढी ६ सय ८० किलोमिटर बसबाट तय गर्न १६ घन्टा लाग्छ । हवाई यात्रामा १ घन्टा १० मिनेट लाग्छ । धनगढीबाट चारवटै जिल्ला भएर खप्तड पुग्न सकिन्छ । ती चारै जिल्लामा काठमाडौंबाट सीधा बस सेवा पनि छ । दुई दिन सीधा बस यात्रा गरेपछि सदरमुकाम हुँदै खप्तडको यात्रामा लाग्न सकिन्छ । डोटीको बाटो भएर जानेले सिलगढी–झिग्राना डेढ घन्टा जिपको यात्रा गर्नुपर्छ । झिग्रानाबाट १० घन्टा पदयात्रा गरेपछि निकुञ्ज हेडक्वार्टर पुगिन्छ ।
बझाङ हँुदै जानेले सदरमुकाम पुग्नुअगावै तमैल बजारबाट दारुगाउँसम्म २ दशमलव ५ घन्टा जिप यात्रा गर्नुपर्छ । त्यहाँबाट करिब चार घन्टा पदयात्रा गरेपछि निकुञ्ज हेडक्वार्टर पुगिन्छ । चार जिल्लामध्ये बझाङको बाटो सबैभन्दा छोटो छ । दम्साइलो उकालो पर्ने भएकाले जोसुकै यो बाटो भएर खप्तड पुग्न सक्छन् ।