दार्चुला : दार्चुलाको व्यास गाउँपालिका वडा नम्बर १ छाङरुको गागा क्षेत्रमा सशस्त्र प्रहरीको सीमा सुरक्षा पोस्ट (बीओपी) स्थापनाका लागि नौ महिनापछि टुंगो लागेको छ ।
मंसिर २३ गते बसेको मन्त्रिपरिषद् बैठकले बीओपी स्थापनाका लागि जिल्लास्तरबाट सिफारिस भई प्रस्तावित गरेको जमिन दर्ता गर्न स्वीकृति दिने निर्णय गरेको हो ।
गत चैत महिनाको पहिलो हप्ता जिल्लास्तरबाट जमिन व्यवस्थापनको प्रक्रिया अघि बढाइएको थियो । जिल्लास्थित सरोकारवाला निकाय र व्यासका स्थानीय बासिन्दासँगको छलफलपछि छाङरुको गागाक्षेत्रमा १५ रोपनी सरकारी जमिन सुरक्षा पोस्ट स्थापनाका लागि उपयुक्त हुने निस्कर्ष निकालिएको थियो ।
नौ महिनासम्म वन मन्त्रालयको सहमति चाहिने भन्दै जमिन व्यवस्थापनको फाइल गृह मन्त्रालयमै अडकाइएको थियो । प्रस्तावित ‘जमिन क्षेत्रको वातावरणीय प्रभाव मूल्यांकन गर्नुपर्ने’ बहाना देखाउदै पोस्ट स्थापनाको फाइल त्यतिकै थन्क्याइएको थियो ।
मन्त्रिपरिषद्ले दार्चुलाको छाङरु क्षेत्रमा सशस्त्र प्रहरीको पोस्ट राख्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले बताए । मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न बिहीबार काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता बाँस्कोटाले ‘दार्चुला जिल्लाको व्यास गाउँपालिका वडा नम्बर १ लगायत सीमावर्ती क्षेत्रमा सुरक्षा पोस्ट राखिने’ निर्णय भएको जानकारी दिए । यसबाट ‘सीमाक्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण गर्न सहयोग पुग्ने’ उनको भनाइ छ ।
व्यास क्षेत्रमा सुरक्षा पोस्ट स्थापनाका लागि गत साउनमै दार्चुलाको खलंगास्थित सशस्त्र प्रहरीको ५० नम्बर गुल्मलाई १ करोड बजेट निकासा प्राप्त भएको गुल्मपति डम्बरवहादुर विष्टले बताए । ‘हालै नेपाल सरकारबाट जमिन व्यवस्थापनबारे निर्णय भएको छ, अब पूर्वाधार निर्माणको प्रक्रिया अघि बढ्छ’, गुल्मपति विष्टले भने ।
जमिनको टुंगो लगाउन र सुरक्षा पोस्ट स्थापनाका लागि आवश्यक बजेट व्यवस्थापन गर्न सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले मंसिर २० गते गृह मन्त्रालयलाई निर्णयार्थ पत्राचार गरेका थिए।
सशस्त्रको सुरक्षा पोस्टअन्तर्गत एक सयजनाको जनशक्तिका लागि आवाशीय भवन बनाउने प्रस्ताव छ ।
ब्यारेक भवन, खाद्यान्न भण्डार, घेरपर्खाल, सुरक्षा निगरानी पोष्ट, प्रवेशद्वार र प्रतिक्षालयको संरचना बनाइने छ । यसैगरी, जमिन संरक्षण, जेनरेटर खरिद, सौर्य प्रणाली जडानको कार्य पनि गरिने छ ।