धनगढी : कैलालीको चुरे गाउँपालिका खैरालामा रहेको गर्भा दरबार संरक्षण अभावमा जीर्ण बनेको छ । वि। सं। १९८४ मा खड्कशमशेर जबराले निर्माण गरेको उक्त ऐतिहासिक संरचना संरक्षणको अभावमा खण्डहरमा परिणत हुँदै गएको हो ।
राणाकालीन पुरातात्त्विक दरबार जीर्ण हुँदै गइरहेको भए पनि त्यसको संरक्षणमा सरोकारवाला निकायले ध्यान दिन सकेका छैनन् । चुरे गाउँपालिका खैरालाका ७५ वर्षीय उद्धव ओली, ऐतिहासिक गर्भा दरबार संरक्षण अभावमा जीर्ण बन्दै गइरहेको बताउँछन् ।
यस ऐतिहासिक गर्भा दरबारमा लगाइएको टिनको छाना हावाले उडाइसकेको छ भने पर्खाल भत्किसकेको छ । दरबार अहिले प्रयोगविहीन बनेको छ । कलाकृति जडित भित्ताहरू २०५५ सालदेखि भत्किन सुरू गरेको भए पनि अहिलेसम्म यसको संरक्षणमा कसैको ध्यान नगएको ओलीले बताए ।
दरबार संरक्षण गर्न सके पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न सकिने सम्भावना हुँदाहुँदै पनि यसको संरक्षण र पर्यटकीय रूपमा विकास गर्न पहल भएको छैन । दरबार दिन प्रतिदिन भत्किने क्रममा छ ।
दरबारको कतिपय भाग भत्किसकेको छ । सरोकारवाला निकायको बेवास्ताका कारण ऐतिहासिक महत्त्व र पर्यटकीय सम्भावना बोकेको क्षेत्र खण्डहरमा परिणत हुँदै गएको स्वयम् जनप्रतिनिधिहरू बताउँछन् ।
चुरे गाउँपालिका– ३ का अध्यक्ष टेकबहादुर शाहले दरबारको संरक्षणमा कसैको ध्यान नगएको उनीहरूले बताए । मास पिसेर त्यसबाट चुना मिसाई बनाइएको गर्भा दरबारमा ८३ झ्याल, ५३ ढोका छन् ।
१० रोपनी क्षेत्रफलमा फैलिएको यो दरबार तीन खण्ड र तीन तल्ले छ । सुरक्षाका दृष्टिकोणले दरबारभित्र भुइँतले सुरुङसमेत बनाइएको छ, जुन अहिले पुरिँदै गएको छ ।
दरबारको संरक्षणका लागि स्थानीय सरकारले विशेष योजना बनाइरहेको चुरे गाउँपालिका अध्यक्ष धनबहादुर रोकामगरले बताए । राणा शासनकालमा निकै चहलपहल रहने गरेको गर्भा दरबारमा त्यो चहलपहल २०३२ सालसम्म मात्रै रह्यो । खड्कशमशेरका छोरा बहादुरशमशेरपछि गर्भा दरबार बहादुरशमशेरका साहिँला छोरा तेजप्रकाश शमशेर जबराको भागमा र्पयो ।
राणा शासनको अन्त्यपछि पनि शासकहरू बस्ने गरेको उक्त दरबारमा २०३३ सालपछि भने कोही पनि बास नबसेको बताइन्छ । करिब नौ दशक पुरानो राणाकालीन उक्त दरबार संरक्षण गर्न सके पर्यटकीय क्षेत्रको रूपमा समेत विकास गर्न सकिने सम्भावना छ ।
कैलाली सदरमुकाम धनगढीबाट ४५ किलोमिटर उत्तर चुरे क्षेत्रमा पर्ने यस दरबारको प्रवर्द्धनमा सरकारले ध्यान दिए पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न सकिने र यसबाट स्थानीयको जीवनस्तरमा सुधार हुने प्रशस्त सम्भावना रहेको स्थानीय बताउँछन् ।