सिमकोट: सरकारले देशलाई नै तुइन मुक्त घोषणा गरेको दुई वर्ष पुग्नै लाग्दा पनि हुम्लाबासीले भने तुइनको विकल्प पाएका छैनन् । हुम्लामा अहिले पनि आधा दर्जन तुइन सञ्चालनमा छन् ।
कर्णाली नदी माथि झोलुङ्गे तथा ट्रस ब्रिज निर्माण नगरेका कारण हुम्लाबासीलाई जोखिम उठाएरै भएपनि तुइन तर्न बाध्य हुनु परेको हो ।
सुसाउदो कर्णाली नदी माथि लठ्ठामा बाधिएर तुइन तर्नु पर्दा बाँच्ने आशा कमै हुने गरेको भएपनि आजसम्म चलेकै छ । आँखा चिम्म गरेर तर्नुको विकल्प नभएको स्थानीय कुशुम रावलले बताइन् ।
पुल निर्माणको माग गरिए पनि त्यो पुरा नहुँदा जनतालाई तुइन तर्नु बाध्यता रहेको छ । पुलहरु निर्माणका लागि स्थानीय सरकारसँग माग नगरिएको पनि होइन तर कतै सुनुवाई नहुने स्थानीयको गुनासो छ ।
कर्णाली नदीमाथि सर्केगार्ड गाउँपालिका क्षेत्रमा दुई वटा तुइनहरु सञ्चालनमा आएका छन् । खार्पुनाथ गाउँपालिका क्षेत्रमा मात्र कर्णाली नदीमाथि चारवटा तुइन सञ्चालन हुँदै आएका छन् ।
खार्पुनाथ गाउँपालिकाको वडा नम्बर ४ बाट पालिका केन्द्र याङ्चु जान पनि तुइन नै तर्नुपर्छ । त्यसमा गाउँपालिका अध्यक्षदेखि अन्य सेवाग्राहीहरु सबैले तुइन नै तर्दै आएका छन् ।
सो स्थानमा तुईन विस्थापन गर्न प्रधानमन्त्री कार्यालयसम्म खबर पुगेपछि झोलुङ्गे पुल निर्माणको योजना परेको छ भन्ने जानकारी भएपनि हालसम्म निर्माण कम्पनीले पुलका सामानहरु ल्याउन सकेको छैन ।
पुल निर्माण गर्न बढी खर्च लाग्ने जनाउदै तुइन विस्थापन कार्यमा स्थानीय सरकारहरुले आनाकानी गरिरहेका छन् । जनतालाई सहज र सुरक्षित सेवा भन्दा पनि बढी लागतका कारण गाउँपालिकाहरु जनताको जिउ माथि नै खेलवाड गरि रहेका देखिन्छ । देश सञ्चार