गण्डकी प्रदेशभित्रै सयभन्दा बढी बाजा लोप भइसकेको अध्ययनले देखाएको छ। हिमाली साँस्कृतिक परिवारले गरेको खोजमा केही दशकअघिसम्म प्रचलित बाजाहरू नै लोप भइसकेका हुन्।
खासगरी हिमाली जिल्लाहरूमा पाइने बाजा लोप भएका छन्। पहाडी र तराई क्षेत्रका बाजा पनि अहिले खोज्दा भेटिँदैनन्। गुरुङ समुदायमा २ दशकअघिसम्म प्रचलित बाजा सारङ्गी अहिले खोज्दा पनि भेटिँदैन।
लेकमा पशुवस्तु डुलाउँदा सारङ्गी बजाउने चलन थियो। मान्छे मरेर लैजाँदा सँगै जलाउने चलनले गर्दा यो बाजा लोप भइसक्यो।
गन्धर्व जातिको आर्बाजाबारे अहिलेको पुस्तालाई थाहा नै छैन। अहिले प्रचलित सारङ्गीभन्दा पहिले उनीहरू आर्बाजा लिएर घरघरै पुग्थे। तर, सारङ्गीको प्रचलन आउन थालेपछि आर्बाजा हरायो। आर्बाजालाई उनीहरू भाले र सारङ्गीलाई पोथी बाजा भन्छन्।
हिमाली जिल्लाहरूमा पाइने ज्यूमाङ (तरङ्ग), पिनाङ (सारङ्गी), डाङेन (डुङ्ना) लगायतका बाजा लोपोन्मुख अवस्थामा छन्। पहाडी जिल्लाहरूमा पाइने मृदुङ्गा, डमरु, ढल्की, घ्यालिङ, ढुङमार, ढुङ्कार जस्ता बाजा आजभोलि देखिँदैनन्। तराईका जिल्लाहरूमा सुनिने मुरचुङ्गा, विनायोका धुन कमैले सुन्न पाउँछन्।
कति यस्ता बाजाहरू छन्, जसको नामसमेत सुनिएकै छैन। चाप्ता, चिम्टा, झरना बाजा, हुरिबतास बाजा, घङघला, करताल, गोल्कीलगायत बाजा निकै थोरैले मात्रै महसुस गरेका छन्। स्याङजाका गाउँहरूमा प्रचलित पातबाजाका बारेमा धेरैलाई थाहा छैन। पातबाटै गीतको सङ्गीत भर्ने अनौठो कला लोपोन्मुख भइसकेको छ।
हिजो युद्ध गरेर साम्राज्य विस्तार हुन्थ्यो। अहिले पैसाले संस्कृति किन्ने चलन आयो। संस्कृतिलाई भत्काइदिएर साम्राज्य विस्तार गर्न थाले। हाम्रा युवा जमात ड्रम सेटमा रमाउँछन् तर सारङ्गीको महत्त्व बुझ्दैनन्। विदेशीहरू अहिले पूरानो संस्कृति हेर्न आउँछन्।
‘हामीले बचाइराखेका छौं। कहिलेकाहीँ मौका पर्दा देखाउँछौं पनि। तर, अरु बाजाजस्तो यो प्रयोगमा छैन,’ हिमाली साँस्कृतिक परिवारका सदस्य दिलु गुरुङ भन्छन्, ‘कति त पातबाजाको बारेमा सुन्दै अचम्म मान्छन्। हामी यही बजाएर सङ्गीत भर्थ्याैं।’
पुराना मौलिक बाजाको जगेर्ना र पुस्ता हस्तान्तरणका लागि नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले विभिन्न कार्यक्रम गरिरहेको छ। गण्डकी प्रदेशमा हिमाली साँस्कृतिक परिवारसँग मिलेर लोपोन्मुख बाजाको सम्मेलन गरिएको हो।
‘जुन बाजाहरू हराउँदै छन्। त्यसको विकास र संरक्षणका लागि हामीले काम गरेका छौं। सबै जिल्लाबाट लोप हुन लागेका बाजाहरू जम्मा गरेर प्रदर्शन गरेका छौं।
हाम्रो हातबाट गुम्न लागेका र पुरानो पुस्ताबाठ हराउँदै गएका कलालाई नयाँ पुस्तामा हस्तान्तरण गर्न प्रशिक्षणको ब्यवस्था मिलाएका छौं,’ प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठले भने, ‘हिजो युद्ध गरेर साम्राज्य विस्तार हुन्थ्यो। अहिले पैसाले संस्कृति किन्ने चलन आयो। संस्कृतिलाई भत्काइदिएर साम्राज्य विस्तार गर्न थाले। हाम्रा युवा जमात ड्रम सेटमा रमाउँछन् तर सारङ्गीको महत्त्व बुझ्दैनन्।
विदेशीहरू अहिले पूरानो संस्कृति हेर्न आउँछन्। मौलिक पहिचानको निम्ति बाजाको संरक्षण गर्नुपर्छ। त्यही काममा हामी जुटेका छौं।’ नाटकको संरक्षण, बाजा, लोक नृत्य, मुकुट प्रदर्शन जस्ता संरक्षणका काम सातै प्रदेशमा अभियानकै रूपमा विस्तार गर्ने उनले सुनाए।
कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले पनि कला र सँस्कृतिको पुस्तान्तरण हुन नसक्दा सबै संस्कार इतिहासमा सीमित हुने अवस्था आएको बताए। पश्चिमी बाजाहरूको प्रभावका कारण नेपाली मौलिक बाजाहरू हराउँदै गइरहेको उनको जिकिर छ।
११ जिल्लाको प्रतिनिधित्व हुने गरी शुक्रबार र शनिबार ९५ वटा लोपोन्मुख बाजाहरूको प्रदर्शनी र तीन वटा कार्यपत्र प्रस्तुत गरिएको थियो। १२ वटा समूहले गण्डकी प्रदेशभित्रका हिमाल, पहाड र तराईको प्रतिनिधित्व हुने गरी विभिन्न बाजाको धुनहरू प्रस्तुत गरेका थिए।
गन्धर्वको आर्बाजा, सारङ्गी, मुस्ताङको टुङना, सारङ्ग, तरङ्ग, स्याङजाको पातबाजा, लामाहरूको लामा बाजा, लेखनाथको भजन, पोखराको नेवारी बाजा, गुरुङहरूको घ्याप्र, छयाडुं, नवलपुरको थारु संस्कृति प्रदर्शन गरिएका थिए। उनीहरूले हराउन लागेका बाजाहरूको धुन सुनाएका थिए। नेपालन्युज