विराटनगर / प्रदेश १ सरकारले नेपाल भ्रमण वर्ष सन् २०२० लाई सफल बनाउन प्रदेश १ का विशेष स्थानहरुको परिचय खुलाउनमा व्यस्त देखिएका छन् ।
नेपालको सबै भन्दा गहिरो स्थान झापाको केचना कवल र विश्वकै सबैभन्दा अग्लो चुचुरो सगरमाथा पनि यसै प्रदेश १ मा नै पर्ने भएको यसलाई पर्यटक गन्तव्य बनाउन समय नलाग्ने प्रदेश सरकारको अठोट छ ।
कोशी वन्य जन्तु आरक्षण क्षेत्र, चिया खेती, अलैँची, सुन्तला, नेपालकै सबै भन्दा ठूलो प्राकृतिक पोखरी बर्जुताल, रुद्राक्ष र लाली गुराँस फुल्ने पनि र अन्य साना हिमाल, पहाड, मधेश वन जङ्गल र प्राकृतिक सौन्दर्यता भरिपूर्ण अन्य धेरै स्थानहरुको खोजी र पहिचानमा प्रदेश सरकार लागि परेको छ ।
धार्मिक दृष्टिले पनि बराह क्षेत्रदेखि लिएर पाथीभरा माईको मन्दिर यस प्रदेशमा हुनुले सबै किसिमको पर्यटकलाई लोभ्याउन सकिने आज विराटनगरमा आयोजित एक समारोहमा सरकारका प्रतिनिधिहरुले उद्घोष गरेका छन् ।
पर्यटन वर्षलाई सफल बनाउन उत्तरार्धमा इमेज नेपालले विभिन्न देशका १ सय पर्यटक सहित आज विराटनगर आईपुग्दा प्रदेश १ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले ‘पर्यटक र अतिथिको सत्कार प्रदेश १ को संस्कार’ कार्यक्रमको आयोजना गरी पर्यटकहरुलाई भव्य स्वागत गरेको छ ।
मुख्यमन्त्री शेरधन राईले प्रदेश १ लाई पर्यटकीय स्थल बनाउन सरकारले कुनै कसर बाँकी नराख्ने बताए । उनले पर्यटकका लागि अब नेपालको राजधानी काठमाण्डौँ, चितवन, पोखरा र लुम्बिनी मात्र नभएर प्रदेश १ पनि आकर्षकको केन्द्र हुने भन्दै यहाँका विशेषता, संस्कार, भौगोलिकतालाई बुझेर प्रदेश सरकारले विभिन्न योजना बनाउन लागेको बताए ।
कञ्चनजंघादेखि मकालु र सगरमाथासम्म मुन्धुम ट्रेलको विकास गर्ने सरकारको लक्ष्यअनुसार काम अघि बढेको मुख्यमन्त्री राईले जानकारी दिए । उनले टोलीलाई गुराँसको राजधानी तिनजुरे मिल्केमा पुग्न आग्रह गर्दै त्यो संभव नभए भेडेटारसम्म पुग्न सुझाब समेत दिए । खबर पुर्वञ्चल