गुल्मी : देशमा रोजगारीको सम्भावना नदेखेर अधिकाशं युवाहरुले रोजिरोटिको लागि विदेश रोज्ने गर्छन् । तर समाजका केहि त्यस्ता युवा छन्, जसले थुप्रै अवरोहलाई पार गर्दै आफ्नै गाउँमा स्वरोजगार भएका छन् ।
त्यसैमध्येका एक हुन्, गुल्मीको रुरु गाँउपालिका ६ रिमुवाका चेतबहादुर बस्नेत । ४८ बर्षिया उनले तरकारी खेतीमार्फत जिविकोपार्जन गरिरहेका छन् ।
विगत दुई बर्षबाट व्यवसायिक तरकारी खेती सुरु गरेका उनले मौसम हेरेर तरकारी र तरकारीजन्य सामग्री उत्पादन गर्छन् । जसको फलस्वरुप उनलाई एकातर्फ रोजगारीको लागि म्यानपावरको ढोका धाउनुपरेको छैन ।
भने अर्कोतर्फ आफ्नै परिवारसँग बस्ने अवसर प्राप्त भएको छ । अहिले उनको बारिमा ग्रिनटप जातको बन्दा, सोनो मोस्टिक जातको काउली, ब्रोकाउली, मुला लगायतका तरकारी छन् ।
हालसम्म चार रोपनी जग्गामा खेती गर्दै आएका बस्नेतले उत्पादनमा बजारीकरणमा सफलता पाएका कारण थप छ रोपनी जग्गामा पनि व्यवसायिक तरकारी खेती गर्ने योजना रहेको बताए ।
‘तरकारी खेतीमा राम्रो सफलता मिलेको छ, अब यसलाई विस्तार गर्दैछु ।’ उनले भने, ‘स्थानीय बजारका साथै खैरेनी, बलेटक्सार तथा पैँचो पसलसम्म विक्रि हुन्छ ।
’ अहिले बारिमा लगाएका गोपिपछि भक्तपुरे लोकल काँक्रा, बोडि, सिमि लगायतका तरकारी लगाउने सोच रहेको उनले सुनाए । बस्नेतले तरकारी मात्र होइन्, माछा पालन पनि सुरु गरेका छन् ।
अहिले एउटा पोखरि बनाई त्यसबाट सिँचाई र माछा पालन गर्दै आएका छन् । गत बर्षको फागुनमा एक हजार भुरा राखेको पोखरिबाट अहिलेसम्म एक लाख २० हजारको माछा विक्रि गरेको बस्नेत सुनाउछन् ।
भने पोखरिमा अझै दुई सयजति माछा रहेका छन् । बार्षिक साढे तीन लाख बचत
अहिले उनका दुई छोराछोरी अध्ययनको लागि बुटबलमा छन् । घरमा श्रीमान–श्रीमती ।
खेतीबाट गरेको आम्दानीले छोराछोरीको पढाई खर्च र घरखर्च चलेको छ । त्यत्तिमात्र होइन्, सबै खर्च कटाउदाँ पनि मासिक औषत ३० हजारका दरले बार्षिक साढे तीनलाखभन्दा बढी बचत हुने उनले बताए ।
अब तीन लाखजतिको लगानीमा व्यवसायलाई थप फस्टाउने योजना रहेको उनले बताए । तर रोजगारिकै लागि विदेश जाने सोच बनाएकाहरुलाई भने आफ्नै गाँउमा कृषि पेशा गर्न उनले सुझाव दिए ।
अहिले कृषि कार्यमा स्थानीय तथा प्रदेश सरकारले समेत अनुदानको व्यवस्था गरेको छ । तर उनले भने अहिलेसम्म कत्ति पनि अनुदान लिएका छैनन् । ‘अनुदान मिल्छ भन्ने सुनेको छु, अझैसम्म पाएको छैन ।
’ बस्नेतले भने । उनले व्यवसायिक खेतिको लागि सिँचाईको अभाव रहेको, ढडेलो लाग्ने गरेको जस्ता समस्या रहेको सुनाए । तर यसमा स्थानीय सरकारले कुनै सहयोग नगरेको बस्नेतले गुनासो गरे ।
रुरु गाउँपालिका अध्यक्ष निलकण्ठ गौतमले गाँउपालिकाले कृषिको गुरुयोजना बनाउन लागेको बताए । कृषि र पर्यटनमार्फत नै गाँउपालिकालाई आत्मनिर्भर बनाउन सकिने भएकोले उनले कृषिलाई प्राथमिकतामा राखेर काम गरेको बताए । राजधानी दैनिक